स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण

स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताउनुभयो । “सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु”, उहाँले भन्नुभयो । उहाँले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताउनुभयो ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो । विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस (हाल हेटौँडा–१७, हटिया, राजदेवी) मा जन्मनुभएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आउनुभएको छ । उहाँले २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको छ । पछिल्लो पटक उहाँ मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको हो ।

भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गर्नुभएका उहाँले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गर्नुभएको छ । भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उहाँ २०३५÷०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहनुभएको थियो ।

विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उहाँ २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बन्नुभएको थियो । हाल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रहनुभएका उहाँले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसक्नुभएको छ ।

यो पनि – मुलुकमा सबल सुरक्षा नीति आवश्यक ः मन्त्री डा रिजाल

नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रक्षामन्त्री डा रिजालले भन्नुभयो, “अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा उठिरहेको छ त्यसले पनि सबल सुरक्षा नीति आवश्यक रहेको देखिएको छ, त्यसमा मेरो ध्यान जान्छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुँदा नै मन्त्रीस्तरीय समितिले राष्ट्रिय सुरक्षा नीति अघि बढाएको सन्दर्भ जोड्नुहुँदै मन्त्री डा रिजालले त्यसलाई पछि आएर विभिन्न चरणमा अघि बढाउने काम भइरहेको उल्लेख गर्नुभयो । मन्त्री रिजालले नेपालको सुरक्षा संवेदनशिलता र मित्रराष्ट्रसँगको सम्बन्ध पहिलेभन्दा बढी अवसरको रुपमा विकास भइरहेको र त्यससँगै चुनौती पनि बढ्दै गएको सन्दर्भमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो ।

उहाँले नेपालबाट शान्ति मिसनमा ठूलो सङ्ख्यामा सेना जाने गरिएको र त्यहाँ नेपालको भूमिकालाई अझ विस्तारित गर्ने विषयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री डा रिजाल यसअघि संस्कृति र सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुभएको थियो । सुनसरीमा जन्मनुभएका उहाँ मोरङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उहाँ नेपाल विद्यार्थी सङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै राजनीतिमा आउनुभएको थियो । उहाँले संविधान मस्यौदा समितिको सदस्य बनेर जिम्मेवारी निर्वाह गर्नुभयो । हाल उहाँ संसद्को सार्वजनिक लेखा समितिका सदस्य पनि हुनुहुन्छ । उहाँले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको हो ।