प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिनुभएको छ । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । मन्त्रिपरिषदल्े पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उहाँले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मनत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उहाँ नै सरकारको प्रवक्ता हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभएको थियो । बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यस्तै, मन्त्रिपरिषद्का समितिको पनि पुनःगठन गरिएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालका सम्बन्धमा गलत प्रचार गरिएको भन्दै भ्रममा नपर्नसमेत सरकारले आग्रह गरेको छ ।
नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले हमाललाई नियुक्त गर्नुभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उल्लेख गर्नुभयो । नवनियुक्त मन्त्री हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र सोही आधारमा कांग्रेसका तर्फबाट नियुक्त हुनुभएको मन्त्री कार्कीको भनाइ छ ।
यो पनि -नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो ।
आज विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीले पनि आजै राष्ट्रपति समक्ष पथ तथा गोपनीयताको शपथ लिनुभएको हो ।
आजै प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्री द्धय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधानसेनापतिलगायतको उपस्थिति थियो ।
समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवलगायत उपस्थिति थियो । नवगठित मन्त्रिमण्डलमा ११ जना नयाँ अनुहार हुनुहुन्छ । गत असार २९ गते गठन भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो । सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुई जना मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गरिएको थियो ।
।
मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्रीसहित छ, नेकपा(एकीकृत समाजवादी)का तर्फबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री हुनुहुन्छ । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ । नवगठित मन्त्रिपरिषदमा ६ जना महिला हुनुहुन्छ ।
प्रतिक्रिया