वाग्मती प्रदेशसभाको आज बसेको नवौँ अधिवेशन बैठकमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय सरोकारको विषयलगायत प्रदेश सरकारले जनहितका लागि गरिएको कार्यको लागि आलोचनासहित आ–आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको छ । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वमा हुने गरेको विभेदलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले दलहरूले राष्ट्रको सार्वभौम, राष्ट्रियताको सम्वद्र्धन गर्ने र जनताको बृहत हित र मानव अधिकारको संरक्षणको लागि प्रमुख एजेण्डा बनाइ अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । मुख्यमन्त्री शाक्यले दलका शीर्ष नेताले पद, प्रतिष्ठाभन्दा नेपाल र नेपालीलाई केन्द्रविन्दुरमा राखेर विकासको लागि राजनीति गर्दा संविधानको भविष्य जीवन्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सो बैठकमा सत्तारुढ नेकपा (एमाले) संसदीय दलका सचेतक दीपक निरौलाले प्रदेशका सबै धर्म संस्कृति समुदायका व्यक्तिलाई प्रदेश सरकारले समान धारणाका साथ आफ्नो स्रोत र साधनअनुसार, सेवा सुविधा उपलब्ध गराउँदै आएको चर्चा गर्नुहुँदै वर्तमान सरकारलाई सबै दलले विश्वासको मत प्रदान आग्रह गर्नुभयो । सो बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले परिकल्पना गरेको प्रजातान्त्रिकको व्यवस्थालाई जीवन्त तुल्याउनुको सट्टा मुख्यमन्त्री र मन्त्री पद प्राप्तिका लागि आफ्नो सिद्धान्त, निष्ठा र जनताप्रति जिम्मेवार हुनुपर्ने दृढतालाई त्याग्दा प्रजातन्त्र माथि नै सङ्कट आइपरेको बताउनुभयो ।
उक्त अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई दिगो शान्ति, मानव अधिकारको संरक्षण गर्न विगतको सङ्घीय र प्रदेश सरकारले सकारात्मक भूमिका खेल्न नसकेकामा चिन्ता व्यक्त गर्नुहुँदै संविधानको संरक्षण गर्न र प्रदेशमा जनतालाई आधारभूत विकासप्रति आत्मनिर्भर तुल्याउन वर्तमान प्रदेश सरकार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई दरिलो बनाउन राजनीतिक दलका नेताहरूले आफूलाई व्यावहारिक र पद प्राप्तिको होडबाजीलाई त्यागेर जनता र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै प्रदेशको वर्तमान सरकारले कुनै किसिमको प्रभावकारी भूमिका खेल्न नसकेकाले आफ्नो दलको तर्फबाट विश्वासको मत नदिने बताउनुभयो ।
उक्त बैठकमा साझा विवेकशील दलका नेता रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र राज गोरसाईं, राप्रपाका रिता माझी र जसपाका नेता प्रेम तामाङले राजनीतिक दलका शीर्ष नेताहरूले आफूलाई व्यावहारिक र पार्टीप्रति निष्ठा राखेर अघि बढेको खण्डमा देशमा स्थायी शान्त्ति र प्रजातन्त्रको सुदृढीकरणको लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुहुँदै देश र पार्टीभन्दा मुख्यमन्त्री र मन्त्री पद प्यारो ठान्दा राष्ट्रले विकासको फड्को मार्न नसकेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया