प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।  यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिनुभयो ।

यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिनुभयो ।

यो पनि – व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजना ः २६ अर्ब लागत, २६ योजना

तनहुँको व्यास नगरपालिकाको महत्वाकाङ्क्षी परियोजनाको रुपमा रहेको व्यास एकीकृत मादी नदी उपत्यका परियोजना अगाडि बढ्ने भएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउने तयारी थालिएको हो । नगरपालिकाले परियोजनाको गुरुयोजनाको अन्तिम मस्यौदा सार्वजनिक गरेको छ । आइतबार आयोजना गरिएको कार्यक्रमबाट मस्यौदा माथि सुझाव सङ्कलन गरिएको छ । गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेट्ने तयारी गरिएको छ । जसको लागत रु २६ अर्ब रहने बताइएको छ ।

गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजनालगायतका २६ वटा योजना समेटिने जानकारी दिनुभयो । प्रत्येक योजनाको छुट्टाछुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उहाँले १५ वर्षसम्म हरेक योजनालाई महत्वको हिसाबले प्र्राथमिकता निर्धारण गरिने र सोहीअनुसार निर्माण कार्य पनि अगाडि बढाइने जानकारी दिनुभयो ।

जलस्रोतविद् अर्जुन गौतम, वातावरणविद् राजीव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पूर्वाधार र एवं विपद्विद देवकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राख्नुभएको थियो । योजनाको दिगोपन, हाइड्रोलजिकल पक्षअन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञले सुझाव दिनुभएको थियो । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिनुभयो । प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उहाँले सुझाव दिनुभयो । सांसद कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । यो परियोजना तनहुँको समृद्धिको आधारशीला भएकाले यसलाई सफल बनाउने जिम्मेवारी सबैको हुने उहाँले बताउनुभयो ।

सांसद प्रकाश पन्थले परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने बताउँदै परियोजना सम्पन्न हुने अवधि लामो भएकाले समयसँगै परिवर्तन हुने पक्षहरुको बारेमा समेत चनाखो भई लागत इष्टिमेट गर्न उहाँले सुझाव दिनुभयो । मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको बहाव नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, निजी जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौतीबारे आआफनो धारणा व्यक्त गर्नुभएको थियो । साथै लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत् उत्पादन क्षमता, निजी क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सूची निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिबद्धता हुनुपर्नेलगायतका सुझाव राखेका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासको बृहत्तर र एकीकृत विकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञसँग पटकपटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृतिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताउनुभयो । यस परियोजनाका लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउँदै उहाँले विज्ञ टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।