रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्माले उहाँलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो । सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवद्र्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न हुने उहाँले बताउनुभयो । प्रधान सेनापति महारथी शर्माले रक्षामन्त्री डा रिजालको नेतृत्व र निर्देशनमा सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधान सेनापति शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास दिलाउनुभयो ।
सो अवसरमा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रीत रही प्रस्तुतीकरण भएको थियो । सो अवसरमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालसहित मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।
यो पनि – सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गर्नुभयो ।
आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युत्मा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।
फरक प्रसङगमा अध्यक्ष यादवले नेपालको संविधान संसोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । संविधान निर्माण र जारीदेखि नै आफूहरुले त्यसमा संसोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उहाँले संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउनुभयो । संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । संविधानमा गर्ने संसोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश सयौँ नेता तथा कार्यकर्ताहरुलाई पार्टीका अध्यक्ष यादवले फूल, माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया