नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । “पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ”, उहाँले भन्नुभयो । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।
पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उहाँले बताउनुभयो । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उहाँले प्रष्ट पार्नुभयो । “बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो”, उहाँले भन्नुभयो ।
यो पनि -स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले
आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गर्दैछ । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी सङ्ख्या निर्धारण गरेको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पारित विधान प्रकाशन भई चाँडै तल्ला कमिटीमा पठाइने र सोहीबमोजिम अधिवेशन हुने बताउनुभयो ।
एमालेको यही कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ÷नगरपालिका– ७५, उपमहानगरपालिका– ८५, महानगरपालिका– १०१ सदस्य चुनिनेछन् ।
एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो । सो पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ । एमालेले आन्तरिक एकताका लागि भएको सहमतिबमोजिम १० बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि उपाध्यक्ष डा भीम रावलको नेतृत्वको कार्यदल गठन गरेको छ ।
प्रतिक्रिया