बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता प्रवाह हुँदै १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए । त्यसरी बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारणरूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैंकले मङ्गलबार तीन बुँदे निर्देशन जारी गरेको थियो ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । गत असोज २० गते बैंकले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुनसकेको छैन ।

यो पनि – ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश ः कात्तिकको ब्याजदर संशोधन हुने

बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्र्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।केन्द्रीय बैंकले मङ्गलबार जारी गरेको निर्देशनानुशार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । त्यस्तै संस्थागत मुद्दति निक्षेप ९बोलकबोलसमेत०मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले कात्तिक महिनाका लागि सार्वजनिक भएका ब्याजदरसमेत उल्लेखित व्यवस्थाबमोजिम नभएको भए संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो बेवसाइटमार्फत सार्वजनिक गरी लागू गर्न र ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले गत असोज महिनाको ब्याजदरका तुलनामा बढीमा १० प्रतिशतले वृद्धि गरी यही कात्तिकको लागि नयाँ ब्याजदर निर्धारण गर्न सक्नेछन् । असोज महिनाका लागि सनराइज् बैंकले निक्षेपमा अधिकतम १० दशमलव शून्य सात प्रतिशत ब्याज दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार अब सनराइज् बैंकले मुद्दति निक्षेपमा कात्तिक महिनामा अधिकतम ११ दशमलव शून्य शून्य सात प्रतिशतसम्म ब्याज दिन सक्नेछ । तरलता अभावले लगानीयोग्य रकममा समस्या आएको जनाउँदै धेरै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको पहिलो दिननै दोहोरो अङ्कले ब्याज बढाएका थिए ।