एकसय दिनभित्र नतिजा आउने गरी काम गर्नुस्– मन्त्री पौडेल

एकसय दिनभित्र नतिजा आउने गरी काम गर्नुस्– मन्त्री पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका कर्मचारीलाई अबको १०० दिनमा नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री पौडेल, राज्यमन्त्री बोधमायाकुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियासहितको टोलीले आज सानोठिमीस्थित चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकनपछि कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री पौडेलले भन्नुभयो, “कर्मचारीले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न पछि पर्नु हुँदैन, कर्मचारीले अल्छिपना, उदासीनता, लापरबाही र भ्रष्टाचारलाई त्यागेर अगाडि बढ्नुस्, आफ्नो बारेमा होइन, संस्थाको बारेमा सोचेर अगाडि बढ्नुस्, अबको १०० दिनभित्र नतिजा आउने गरी काम गर्नुहोस् ।” उहाँले आयोग र केन्द्र दुवै कार्यालयलाई तीन महिने, एक वर्षे र नीतिगत प्रक्रियाका कार्ययोजना बनाई काम गर्न निर्देशन दिनुभयो । जागिर खानु व्यक्तिगत जीवनयापनको आवश्यकता मात्र नभई देश र समाजप्रतिको कर्तव्य पनि हो भन्दै उहाँले कर्मचारीले हुने र गर्नसक्ने काम चुस्त दुरुस्तरूपमा गर्नुपर्ने र हुनै नसक्ने कामलाई छोडी दिनुपर्ने बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले पनि कार्ययोजना बनाएर काम चुस्त दुरुस्तरूपमा काम गर्न निर्देशन दिँदै मन्त्री पौडेलले मेडिकल शिक्षा सुधार गर्दै यहाँको प्रणालीलाई समेत विवादरहित र निष्पक्ष प्रणालीका रूपमा लैजानुपर्ने बताउनुभयो । एक वर्षमा कति विशेषज्ञ जनशक्ति आवश्यक पर्ने हो त्यसको आकलन गर्दै जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसो भएमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पनि योजना बनाएर अगाडि बढ्न सहज हुने बताउनुभयो ।

उहाँले मेडिकल कलेज सुधारका लागि गरिएको सकारात्मक काममा एक दुई जनाले विरोध गर्दैमा केही हुँदैन भन्दै जनताको पक्षमा काम गर्दा कर्मचारीले आफ्नो कर्तव्य भने भुल्न नहुने औँल्याउनुभयो । आयोग र केन्द्रलाई निर्देशन दिँदै मन्त्री पौडेलले भन्नुभयो, “कर्मचारीले कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधारेर अगाडि बढ्नु पर्छ, म आफू पनि मन्त्री मात्रै नभई कर्मचारी भएर दिन रात काम गर्नेछु, तपाईंहरु पनि संस्था सुधार्ने गरी काम गर्नुस् ।”

शिक्षामन्त्री पौडेलले मन्त्री पद अलौकिक नभएको भन्दै संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न आफू लाग्ने बताउनुभयो । कर्मचारीले सबै काम सङ्कल्पकृत भएर गर्नुपर्नेमा जोड दिँदै उहाँले काम गर्ने क्रममा आइपर्ने जस्तोसुकै समस्याका गाँठो फुकाउन समन्वय गर्ने कार्यमा आफू लाग्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री यादवले कार्ययोजनाअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सहजीकरणका लागि पहल गर्ने बताउनुभयो । कर्मचारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीलाई मन्त्रालयको सहयोग रहने तर कर्मचारीको पनि उत्तिकै सहयोग जरुरी रहने औँल्याउनुभयो ।

कार्यक्रममा शिक्षा सचिव थपलियाले कर्मचारीले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्रीले शिक्षाको क्षेत्रमा सुधार गर्न खोजेकाले उहाँको अभियानलाई कर्मचारीले सघाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नीति नियम पालना गरी कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिँदै कर्मचारीले गरेको सकारात्मक र राम्रा कामलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

त्यस अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सदस्य सचिव डा भोजराज काफ्ले, मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल र उपनिर्देशक केशवप्रसाद दाहालले सम्बन्धित कार्यालयले गर्दै आएको काम, प्रगति, समग्र अवस्था, सम्भावना, समस्या र चुनौतीका बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।