परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।”
एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताउनुभयो । उहाँले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । उहाँले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताउनुभयो ।
यस्तै त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थानको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सुनसरीसहित प्रदेश नं १ का विभिन्न जिल्लाको भ्रमण गर्दै मन्त्री खड्का शनिबार उदयपुर आइपुग्नुभएको हो ।
यो पनि- एमाले महाधिवेशन ः नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
चितवन, ८ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारीदिनुभयो । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।”
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उहाँको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताउनुभयो । यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।”
अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिनुभयो । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।
९० वडामा सर्वसम्मत अधिवेशन
यसैबीच एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ वडामा सर्वसम्मत हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको अध्यक्ष रावलले बताउनुभयो । यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकामा तीन, कालिका नगरपालिका दुई वडाबाहेक अन्य वडामा सर्वसहमत भएको हो । उहाँका अनुसार यही कात्तिक ९ गते जिल्लाका सात पालिकामध्ये छ पालिकाको अधिवेशन हुनेछ । भरतपुर महानगरपालिकाको भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया