राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ– प्रधानमन्त्री देउवा

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ– प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कातिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।” प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गर्नुभएको भेटमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्नेलगायतका विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका १८ रिक्त सदस्यको उपनिर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचनसम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानूनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली सङ्कलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।

अदालतको आदेशअनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तरगत कार्यलयको भौतिक सुधारका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शम्सेर जबरालगायत उपस्थित हुनुहुन्थ्यो ।

यो पनि –  शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट

काठमाडौँ, ८ कात्तिक (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएका थियो ।

मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । सो भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गर्नुभएको थियो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।