काठमाडौँ, ८ कात्तिक (रासस) : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले वृद्धि भएको छ । सुनको मूल्य बढेर प्रतितोला रु ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आज प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनकोे मूल्य आज प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६५ पुगेको छ । चाँदी आज प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।
यो पनि – निलगिरि खोलाको बाँध सडक सञ्जालमा जोडियो
म्याग्दी, ८ कात्तिक (रासस) : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ । निल गिरीखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको आयोजनाको बाँध निर्माण हुन लागेको हुमखोलामा सडक पुगेको हो । यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।
निलगिरि क्यासकेडको विद्युत्गृह निर्माणस्थल दोभानदेखि छोटेपा हुँदै हुमखोला जोड्ने १३ किलोमिटर सडकको पहुँचमार्ग निर्माण सकिएको आयोजनाका इञ्जिनीयर केशव वाग्लेले जानकारी दिनुभयो ।
“पहुँचमार्गले जोडिएपछि बाँध निर्माणको काम पनि अघि बढेको छ”, उहाँले भन्नुभयो, “यसअघि दुई वटा अडिटको चार ठाउँबाट खनिरहेको सुरुङ बाँधतर्फबाट पनि खन्न थालिएको छ ।” अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण गरिएको छ । समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ ।
निलगिरि क्यासकेडको बाँध र पहिलोको विद्युत्गृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाइएको इञ्जिनीयर वाग्लेले बताउनुभयो । हुमखोलासम्म सडक पुगेपछि नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जाने बाटो छोटिएको छ । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले यसअघि चार दिनको यात्रा अब दुई दिनमा छोटिएको बताउनुभयो ।
“नारच्याङदेखि छोटेपा र छोटेपादेखि हुमखोला दुई दिनको यात्रा गाडीमा दुई घण्टामा गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ ।”
अन्नपूर्ण हिमालको आधारशिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवत् नेपालको पहिलो आधारशिविर भएको पुर्जाले बताउनुभयो । बस्तीदेखि टाढा रहेको निलगिरीखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । पहुँचमार्गको साथै बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम पनि धमाधम भइरहेको छ ।
प्रतिक्रिया