एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गर्नुभएको थियो ।
त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाउनुभएको थियो । यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अङ्क जोडेको छ भने नेपाल अङ्कबिहिन छ । नेपालले अब बिहीबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।
यो पनि – नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम भने बढेन
काठमाडौँ, ८ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर ५०४.५७ मा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने खासै उकालो लागेको छैन । कूल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर रु चार अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ४१ अर्ब ११ करोड ७८ लाख ५० हजार बराबर पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३७.४, व्यापार १५.८८, होेटल तथा पर्यटन ८१.८८, विकास बैंक ३०१.५, जलविद्युत् २००.८२, वित्त १७६.४९, निर्जीवन बीमा ४६७.६, उत्पादन १४३.३७, अन्य ४९.२९, लघुवित्त १२१.१३, जीवन बीमा ५३७.०१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.६७ अङ्कले बढेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड २५ लाख २३ हजार ८५९ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु १३ करोड ४५ लाख ५५ हजार १४५, सिद्धार्थ बैंक रु १३ करोड १३ लाख ४३ हजार ३७४, नेशनल हाइड्रोपावर रु १२ करोड २६ लाख आठ हजार ८०९, नबिल बैंक रु ११ करोड ६५ लाख २५ हजार ८२० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
२० कम्पनीको शेयरमा सर्किट
नेप्सेका अनुसार सोमबारको कारोबारमा विभिन्न २० कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । त्यसमा गुर्खाज फाइनान्स, वेष्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहश्वरी मर्चेन्ट बैंक, मल्टीप्रर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, अरुण काबेली पावरलगायत कम्पनी रहेका छन् । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ४, मेरो माइक्रोफाइनान्स ३.९७, युनिलिभर नेपाल २, लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९१ प्रतिशतले गुमाए ।
यो पनि – बस्न सकेन ‘फूलकोर्ट’ बैठक
काठमाडौँ, ८ कात्तिक (रासस) : सर्वोच्च अदालतमा आज बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो ।
आज प्रधानन्यायाधीशले तोक्नुभएको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण उक्त इजलासमा सुनुवाइ हुन नसकेको हो । न्यायाधीशहरूबीच मङ्गलबार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ ।
प्रतिक्रिया