प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उहाँले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे पनि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । कांग्रेसले यस अघि निर्धारण गरेको महाधिवेशनअन्तर्गत स्थानीय तहका सबै अधिवेशन समय मै हुन नसक्दा कार्यतालिका केही प्रभावित भएपछि महाधिवेशन कार्यतालिका परिमार्जन गर्नुपर्ने देखिएको छ ।
हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन कहिले सुरु गर्ने भन्ने समितिको जिज्ञासामा सभापति देउवाले अधिवशेनको मिति परिमार्जन गर्ने अधिकार समितिको भएको उल्लेख गर्दै छठपछि गर्दा उपयुक्त हुने सल्लाह दिनुभएको थियो । सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा प्रकाशशरण महत उपस्थित हुनुहुन्थ्यो ।
कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको छ । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो । कांग्रेसले हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भइ केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।
यो पनि – राज्यका अङ्गले गरिमा कायम राख्नुपर्छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ ।”
यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उहाँको भनाइ थियो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उहाँले कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।”
फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो । अहिले गम्भीर परिस्थिति रहेको भन्दै उहाँले भन्नुभयो, “परिस्थिति गम्भीर छ । जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ ।”
नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताउनुभयो । एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उहाँको भनाइ थियो । आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिन ।”
प्रतिक्रिया