मकवानपुर, १० कात्तिक (रासस) : बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ ।
आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उहाँले बताउनुभयो । कार्यपरामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई÷दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।
यो पनि – सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु
सप्तरी, १० कात्तिक (रासस) : खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि – ताप्लेजुङ कोरोना मुक्त
फुङ्लिङ, १० कात्तिक(रासस) : ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।
यो पनि – एमाले अधिवेशन ः बाँकेमा छ पालिकामा सर्वसम्मत
राँझा, १० कात्तिक (रासस) : बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिनुभयो । ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापालाई सर्वसम्मतरूपमा चयन हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन हुनुभएको छ । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित हुनुभएको छ ।
राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिनुभयो । नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित हुनुभएको छ । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन हुनुभएको छ ।
बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न
बैतडी ः नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा ८४ वडा रहेकामा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका चार वडामा अधिवेशन सम्पन्न भएको एमाले बैतडी सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिनुभयो ।
सचिव भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ मा उमापति भट्ट, ३ मा करनराम भुल, ४ मा तर्कराज भट्ट र ८ मा डम्बर विष्ट वडाध्यक्षमा चयन भएका हुन् । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटीले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।
चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ८४ वडा छन् । कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको जनाइएको छ ।
यसैबीच यही कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनोट गरिएको छ । शिवनाथ गाउँपालिका र मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।
यस्तै दोगडाकेदारमा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडीमा सांसद दामोदर भण्डारी र सिगासमा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरकका रूपमा खटाइएको सचिव भट्टले जानकारी दिनुभयो । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हँुदैछ ।
प्रतिक्रिया