काठमाडौँ, १० कात्तिक (रासस) : नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुण युवाको भएको बताउनुभएको छ । नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतले नेपाली जनताको लामो आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी युवाको भएको बताउनुभएको हो ।
“स्थापनाको झण्डै सातदशक लामो समयसम्म आइपुग्दा नेपाल तरुण दलको आवश्यकता र अपरिहार्यता दिनानुदिन अझ बढी महत्वपूर्ण बन्दै गएको छ”, विज्ञप्तिमा भनिएको छ । उहाँले सामाजिक न्याय, महिला हिंसा, सबैखाले उत्पिडनमा परेका नेपाली नागरिकलाई न्याय दिलाउन नेपाल तरुण दलले हिजोका दिनमा गरेका सङ्घर्षको स्मरण समेत गर्नुभएको छ ।
नेपाली जनताको मौलिक हक, अधिकारको रक्षाका लागि नेपाल तरुण दल सधैँ अग्र मोर्चामा उभिने अध्यक्ष बस्नेतको भनाइ छ । उहाँले नेपाल तरुण दलले स्थापना दिवसका अवसरमा संसारभर रहेका नेपाली युवा तरुणलाई आपसी भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्दै अगाडि बढ्न अनुरोध गर्नुभएको छ ।
यो पनि – सामुदायिक विद्यालयसँग प्रस्ताव माग
वाग्मती, १० कात्तिक (रासस) : कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटाँैडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ । सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ । सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिनुभयो ।
माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको प्रयोगशाला निमार्णका लागि प्रस्ताव माग गरिएको बताइएको छ ।
विद्यालयहरुबाट प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन गरेर आवश्यकता र औचित्यका आधारमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताउनुभयो सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ । यसैबीच हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रहेका १२२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ( इएमआइएस) नबुझाएको जनाइएको छ ।
त्यस्तै ९३ विद्यालयले तोकिएको समयभित्र इएमआइएस बुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । जसअन्तर्गत ६२ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस बुझाएको छ भने १४ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस नबुझाएको बताइएको छ । इएमआइएस नबुझाएको सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने महाशाखाप्रमुख रिमालले बताउनुभयो । समयमै इएमआइएसकै कारण शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया