वाग्मती, १० कात्तिक (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताउनुभएको थियो ।
शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा दिने बताउनुभयो ।
पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उहाँको भनाइ थियो । उहाँले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ । उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।
यो पनि – सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ ः स्वास्थ्यमन्त्री
मोरङ, १० कात्तिक (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्षजनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा रहेको श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने छ भन्नुभयो ।
मन्त्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताउनुभयो । उहाँले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गर्नुभयो ।
उहाँले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्म उमेरका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरु गर्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
प्रतिक्रिया