बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाउनुभएको छ । उहाँको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराउनुभएको थियो । यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।
यो पनि – मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान
बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोक्नुभएको छ ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिनुभएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गर्नुभएको हो ।
उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गर्नुभएको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो ।
यो पनि – मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
यो पनि – सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ ः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्षजनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा रहेको श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने छ भन्नुभयो ।
मन्त्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताउनुभयो । उहाँले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गर्नुभयो ।
उहाँले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्म उमेरका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरु गर्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । –––
प्रतिक्रिया