संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताउनुभएको छ । आज महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उहाँले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताउनुभयो । “विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ”, उहाँले भन्नुभयो, “दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।”
बन्द विमानस्थल सञ्चालन गर्नका लागि रु ५३ करोड ६० लाख बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उहाँले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताउनुभयो । “बोलपत्र आह्वान भइसकेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।” उहाँले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत कार्य अगाडि बढाइएको बताउनुभयो ।
बजेटका कारण विमानस्थलसम्बन्धी कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले बजेट चाँडै स्वीकृत भएपछि कार्य सुरु हुने बताउनुभयो । आरक्ष पीडितको समस्या समाधानका लागि कार्य अगाडि बढाइने मन्त्री आलेमगरको भनाइ थियो ।
यो पनि – एकताबद्ध भएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै पक्ष मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका–४ को सिमीस्थल घ्याङ्डाँडामा ताग्लुङ काग्यु पाल फाउण्डेशनद्वारा निर्माण हुन लागेको विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनाको शिलान्यास कार्यक्रमान आज उहाँले सबै पक्ष एकताबद्ध भएर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने धारणा राख्नुभएको हो ।
मन्त्री पौडेलले सबै राजनीतिक दल, समाजका अगुवा तथा बौद्धिक वर्ग मिलेर पर्यटन प्रवद्र्धन एवं विकासका लागि ‘प्याकेजमा कार्यक्रम’ ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गरे सबै थोक हुन्छ, अहिले नगरे कहिले गर्ने ? विकासमा सबै पक्ष एकताबद्ध हुनु आवश्यक छ ।” विकासबारे आफूलाई घचघच्याउन र जिम्मेवारी दिइरहन उहाँले जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले नेपालका सुन्दर–हरियाली डाँडालाई आन्तरिक र बाह्य पर्यटक सुहाउँदो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रा सुन्दर–हरियाली डाँडाकाँडामा यातायात पु¥याउनुपर्छ, व्यवस्थित होमस्टे बनाउनुपर्छ, यसले हाम्रो पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको शिक्षा, स्वास्थ्य र पर्यटनमा सुधारको आवश्यकता छ, यसमा हामी गम्भीर छौँ ।” उहाँले घ्याङ्डाँडामा निर्माण हुन लागेको विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनामा आइपर्ने प्रशासनिक तथा कानूनी अड्चनमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संविधनसभा सदस्य सूर्यमान दोङ, सांसद गङ्गाबहादुर दोङ, धर्मगुरु खेन रिम्पोछे जे साम्तेन ड्रोडेल दोर्जेलगायतले शुभकामना व्यक्त गर्दै विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रमलगायत गुम्बा परियोजनामा सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया