बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी हुनुहुन्छ ।

छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ । यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने छ ।
यो पनि – गण्डकीमा नेकपा (एस)को तीन महिने पार्टी सुदृढीकरण अभियान
सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।पार्टी प्रदेश कमिटीको बुधबार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने र सङ्गठन विस्तारमा जोड दिने निर्णय गरेको स्थायी समिति सदस्य चूडामणि जङ्गलीले जानकारी दिनुभयो । प्रदेशका ११ वटै जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा कमिटीसम्म अभियान सञ्चालन गर्न पार्टीका केन्द्रीय समिति तथा प्रदेश कमिटीका सदस्यलाई इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।
कास्कीमा केन्द्रीय कमिटी सदस्य गजकुमारी गुरुङलाई क्षेत्र नं १, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य धनराज आचार्यलाई क्षेत्र नं २ र केन्द्रीय सदस्य रत्ना गुरुङलाई क्षेत्र नं ३ को जिम्मेवारी तोकिएको छ । पोखरा महानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण नेपालीलाई दिइएको छ । बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले गरिब, मजदूर किसान, श्रमजीवी वर्गमा सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले अभियानलाई व्यवस्थितरुपमा सञ्चालन गर्दै परिणाममुखी बनाउने, पाँच दलीय गठबन्धनको एकतालाई थप मजबुत बनाउँदै यसलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म सहकार्य गर्ने वातावरण तयार गर्न गठबन्धनलाई अनुरोध गर्ने, जनताले दैनिकरुपमा भोगेका समस्या समाधन गर्दै जनचाहाना अनुसार सरकारका काम कारबाहीलाई जनमुखी बनाउँदै केन्द्र सरकार र प्रदेश सरकारलार्ई काम गर्न अनुरोध गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।
यसैगरी हालै बेमौसमी वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार, मृतकका परिवारलार्ई उचित राहत र नोक्सान भएको धान बालीको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग अनुरोध गर्ने, चाडबाडको समयमा बजारमा कृत्रिम अभाव देखाउँदै उपभोग्य सामग्रीको मूल्यवृद्धि गर्ने कार्य भइरहेकाले त्यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटीका उपाध्यक्ष श्रीनाव बरालले जानकारी दिनुभयो ।
प्रदेश अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा स्थायी कमिटी सदस्य जङ्गली, शारदाप्रसाद सुवेदी, रामजी शर्मा, प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ उपसचिवद्वय बराल र रेखा बस्याललगायतले समसामयिक विषयमा पार्टीको धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया