नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”
देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उहाँको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भन्नुभयो । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उहाँले उल्लेख गर्नुभयो । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पार्नुभयो ।
यो पनि – तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून
दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले ) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ ।
ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ । दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिनुभएको छ । कांग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् ।
एमालेको म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ । ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कमछ ।
चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ । व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानुका उपसचिवमा रुपा लामा, शुक्लागण्डकीमा उपसचिवमा विष्णुमाया ढकालले मौका पाउनुभएको छ ।
वडा तहको अधिवेशनमा भने एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित हुनुभएको छ । गत असोजमा सम्पन्न कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए । व्यास –१४ का वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर –४ का अध्यक्षमा सीता थापा, बन्दिपुर –५ का अध्यक्षमा रीता तिवारी र ऋषिङ –१ का वडाध्यक्षमा सविना राना निर्वाचित हुनुभएको थियो । एमाले नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको र महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो । “महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हावी छ,” उहाँले भन्नुभयो ।
एमाले जिल्ला सचिव भगवती न्यौपानेले सबै पालिकाहरुमा महिलाको सक्रियता उत्साहजनक रहेको बताउनुभयो । पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई समस्या भइरहेको नेपाल महिला सङ्घका अध्यक्ष पवित्रादेवी पौडेलको भनाइ छ । उहाँले भन्नुभयो “महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको छ , यसलाई परिवर्तन गर्न आवश्यक छ । ”
प्रतिक्रिया