प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ ।
उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
विगतमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको अध्यादेश निष्क्रिय भइसकेपछि नेपाल सरकारले त्यसको व्यवस्थापनका लागि असोजमा आदेश जारी गरी सिसिएमसीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रमा रुपान्तरण गरेको थियो ।
बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ सङ्क्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो । बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिनुभयो । सरकारले अवकाशप्राप्त रथी बालानन्द शर्माको नेतृत्वमा उक्त केन्द्र बनाएको थियो । बैठकले केन्द्रबाट हालसम्म भएको कामका लागि धन्यवाद दिएको छ ।
–––
यो पनि – नेकपा (एकीकृत समाजवादी)को विभिन्न आयोग, परिषद् र मञ्च गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ । शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको हो ।उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने पोलिटव्यूरो सदस्य दीलुकुमारी पन्तले जानकारी दिनुभयो ।त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।
पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्षहरू रहनेछन् ।
ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एकतिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ। केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सकिनेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् ।
केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय तहका कमिटीमा भने एक अध्यक्षसहित दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिव गरी सात पदाधिकारी रहनेछन् । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ । विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ ।
यो पनि – प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”
देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उहाँको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भन्नुभयो । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उहाँले उल्लेख गर्नुभयो । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पार्नुभयो ।
यो पनि – तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून
दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले ) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ ।
ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ । दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिनुभएको छ । कांग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् ।
एमालेको म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ । ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कमछ ।
चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ । व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानुका उपसचिवमा रुपा लामा, शुक्लागण्डकीमा उपसचिवमा विष्णुमाया ढकालले मौका पाउनुभएको छ ।
वडा तहको अधिवेशनमा भने एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित हुनुभएको छ । गत असोजमा सम्पन्न कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए । व्यास –१४ का वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर –४ का अध्यक्षमा सीता थापा, बन्दिपुर –५ का अध्यक्षमा रीता तिवारी र ऋषिङ –१ का वडाध्यक्षमा सविना राना निर्वाचित हुनुभएको थियो । एमाले नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको र महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो । “महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हावी छ,” उहाँले भन्नुभयो ।
एमाले जिल्ला सचिव भगवती न्यौपानेले सबै पालिकाहरुमा महिलाको सक्रियता उत्साहजनक रहेको बताउनुभयो । पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई समस्या भइरहेको नेपाल महिला सङ्घका अध्यक्ष पवित्रादेवी पौडेलको भनाइ छ । उहाँले भन्नुभयो “महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको छ , यसलाई परिवर्तन गर्न आवश्यक छ । ”
प्रतिक्रिया