काठमाडौँ, ११ कात्तिक (रासस) : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
कुराकानीमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६)मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भन्नुभयो ।
यो पनि – मन्त्री खतिवडाद्वारा प्रतिष्ठानको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेत रहनुभएका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो । सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको थियो । उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।
विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहनुभएको छ । छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरु खनाल र निर्देशक डा गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीको बयान लिएको हो ।
प्रतिष्ठानमा अहिले रु सात अर्ब सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ मा अहिलेसम्म रु ९१ करोड घाटा रहेको पाइएको छ । दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो । प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।
प्रतिक्रिया