जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट

जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ११ कात्तिक (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका मारमा परेका जनतालाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापनका लागि पूर्वमन्त्री बिना मगर नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिले निम्त्याएको समस्या साझा समस्या भएकाले सबैले हातेमालो गरेर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार तपाईंको साथमा छ, जे हामीले गर्न सक्छौँ त्यो गर्दछौँ र नसक्ने विषयमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्नेछौँ ।”

मुख्यमन्त्री भट्टले वर्षाले किसानको जुन बालीनाली नोक्सान गरेको छ त्यसका लागि पनि लगत सङ्कलन गर्ने काम तीव्र गतिमा भइराखेको जानकारी गराउनुभयो । पूर्वमन्त्री मगरले अविरल वर्षाले निम्त्याएको डुबान र बाढीका कारण जनताको जनजीवन निकै प्रभावित भएकाले जीवनलाई सहजीकरण गर्नका निम्ति सुदूरपश्चिम प्रदेश सरकारलाई विशेष अनुरोध गर्नुभयो ।

ज्ञापनपत्रमा किसानलगायत डुबान प्रभावित क्षेत्रका जनतालाई अविलम्ब राहत उपलब्ध गराउनुपर्ने, बाढीले प्रभावित जनताको स्वास्थ्य उपचार, बिचल्लीमा परेका नागरिकलगायत बसोबासको व्यवस्था मिलाउन, किसानलाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न माग उल्लेख गरिएका छन ।

यो पनि – पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै

पाल्पा, ११ कात्तिक (रासस) ः पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाले सामूहिक तथा निजी रुपमा व्यावसायिक रुपमा घाँसखेती गरी रु १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।

विगत केही वर्षदेखि घाँसको बीउ र घाँस बिक्री गर्दै आउनुभएका तानसेन–५ अर्चलेकी मीना सोमैले घाँस बिक्री गरेर वार्षिक रु २० हजार आम्दानी गर्दै आउनुभएको छ । झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँसखेतीबाट पहिलो वर्ष नै उहाँले वार्षिक रु २० हजारभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।”

विगतमा धान तथा मकैखेती गरे पनि बाँदरको समस्याले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसक्दा यस वर्ष त्यही खेतबारीमा रोपिएको घाँस खेतीबाट राम्रो आम्दानी लिन सफल भएको उहाँको भनाइ छ । मनग्य आम्दानी लिन सफल भएपछि घाँस खेतीतर्फ लोभ्याएको उहाँले अगामी वर्ष सुपर नेपिर र मुलाटो घाँसखेती अझै बढी क्षेत्रफलमा लगाउने योजना बनाएको बताउनुभयो ।

पाल्पामा व्यावसायिक रुपमा पशुपालन गर्ने सङ्ख्या पनि बढेको छ । गाईभैँसीपालन, बाख्रापालन, बङुगुरपालनको सङ्ख्या बढेको हो । पशुपालन बढेसँगै घाँसको माग समेत उच्च रहेको पाइन्छ । सुपर नेपियरको तीन आँख्लालाई ५ रुपैयाँमा बिक्री हुँदै आएपछि महिला उत्साहित भएका छन् ।

तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घको सहयोग तालिम, घाँसको बीउ लगायतको सहयोग पाएपछि यहाँका महिला व्यावसायिक रुपमा घाँसखेती गरी गरिबी हटाउन लागिपरेका हुन् । तानसेन–५ अर्चलेस्थित आदर्श स्वालम्बन महिला समूहले गरेको व्यावसायिक घाँसखेतीबाट यसपाली रु दुई लाख आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष निर्मला हमालले बताउनुभयो ।

घाँसको बिरुवा बिक्रीबाट ठूलो आम्दानी हात परेपछि समूहका सदस्यले समेत निजी जग्गामा व्यावसायिक रुपमा खेती गर्न थालेको समूहकी अध्यक्ष हमालले बताउनुभयो । घाँस खेतीपछि व्यावसायिक रुपमा बाख्रापालनसमेत यस क्षेत्रमा फैलिएको छ । पोषणयुक्त घाँस पशुपक्षी खुवाउँदा छिटो हुर्किने गरेको अनुभव हमालले सुनाउनुभयो । “पहिला अरुले घाँस बेचेको सुनिएको थियो, अहिले आफैले घाँस बेचियो, दुई लाख आम्दानी भएपछि काम गर्न थप उत्साह जागेको छ,” हमालले भन्नुभयो । आदर्श स्वालम्बन महिला समूहमा अहिले तीन जना भन्दा बढी महिला आवद्ध रहेका छन् । समूहले घाँसको नर्सरीसमेत स्थापना गरी सदस्यलाई बिरुवा वितरण गर्दै आएको छ ।

घाँस बिक्रीबाट सङ्कलन भएको रकम समूहका महिला सदस्यको हितमा लगानी गर्दै आएको छ । बाख्रा तथा कुखुरापालनका निम्ति खोर निर्माण गर्न ऋण सहयोग गर्दै आएको समूहकी सदस्य लेखकुमारी सोमैले बताउनुभयो । ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाले घाँसखेती गरी आम्दानी गरेसँगै सामाजिक सांस्कृतिक, आर्थिक हैसियत सुधार भएको बताउनुभयो । उहाँले महिला आत्मनिर्भर हुँदै गएको परिवारमा खुसी ल्याएको बताउनुभयो । घाँसखेती तानसेन नगरपालिका–१, ५, ९, ११, १२ मा महिलाले समूह गठन गरी व्यावसायिक रुपमा घाँसखेती गरेका छन् । ६० रोपनी भन्दा बढी क्षेत्रफलमा गरिएको घाँस खेतीबाट झण्डै सय भन्दा बढी लाभान्वित भएको सङ्घले जनाएको छ ।

तानसेन नगरपालिकाभित्र रहेका पाँच समूहमार्फत गरिएको घाँसखेती पशुपालन सहजता ल्याएको र पोषणयुक्त आहाराका रुपमा सुपर नेपिर खुवाउने चलन पशुपक्षी उत्पादनमा राम्रो हुने विज्ञको भनाइ छ । व्यावसायिक पशुपालनसँगै घाँस खेतीतर्फ जिल्लावासीको आकर्षण बढ्दो छ ।
–––