लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको बताउनुभयो ।
एमालेको विरोधपछि केहीबेर स्थगित भएर फेरि सुरु भएको बैठकमा वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीकोतर्फबाट राज्यमन्त्री सहसराम यादवले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गर्नुभएको थियो ।
बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य रुन्धावती शर्माले गत हप्ता आएको वर्षाले किसानको धान बालीमा ठूलो क्षति पु¥याएकाले राहतको व्यवस्थाको माग गर्नुभयो । उहाँले तत्काल किसानलाई उचित क्षतिपूर्ति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो पनि – प्रधानसेनापति शर्मा भारत भ्रमणमा जानुहुने
प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । भारत भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
प्रतिक्रिया