कर्णाली, १२ कात्तिक (रासस) : वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
सेमिफाइनल अघि समूह चरणको अन्तिम खेल पनि हुँदैछ । समूह चरणमा चिंगाड गाउँपालिका र चौकुने गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली सेमिफाइनल पुग्नेछ । आजको विजेताले फाइनल प्रवेशका लागि वीरेन्द्रनगर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार सिम्ता गाउँपालिकालाई २–० गोलअन्तरले हराउँदै वीरेन्द्रनगर सेमिफाइनल पुगेको थियो । सेमिफाइनल खेल्ने अन्य दुई टोलीको यसअघि टुङ्गो लागिसकेको छ ।
बिहीबार बराहताल गाउँपालिकालाई पराजित गर्दै भेरीगङ्गा नगरपालिका र बुधबार उद्घाटन खेलमा गुर्भाकोटलाई पराजित गर्दै पञ्चपुरी नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । आयोजक क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले दोस्रो सेमिफाइनल शनिबार तथा अन्तिम खेल आइतबार हुने जानकारी दिनुभयो । कप विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।
यो पनि – बीस महिनापछि मैत्री बस सञ्चालन
महेन्द्रनगर, १२ कात्तिक (रासस) : कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताउनुभयो । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ । “सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी बस नेपाल भित्रिएको हो”, उहाँले भन्नुभयो, “स्वास्थ्य सतर्कता हाम्रै लागि हो ।”
उहाँले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले सङ्क्रमणबाट बच्न मास्क लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो । गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट हेर्ने गर्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्डका साथै भारतीयलाई परिचय खुल्ने कागजात र भन्सार तिरेर मात्रै आउन दिइएको जनाएको छ ।
महाकाली यातायात प्रालिले यहाँबाट हरेक दिन नेपाल–भारत मैत्री बस सञ्चालन हुने जनाएको छ । कोरोना सङ्क्रमण फैलिनुअघि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन गरी दैनिक नौवटा बस सञ्चालनमा थिए । लामो समय यातायात सेवा कोरोनाका कारण प्रभावित हुँदा यहाँका यातायात व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।
प्रतिक्रिया