नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाँले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाउनुभयो । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उहाँले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ भन्नुभयो ।
यो पनि – स्वतन्त्र न्यायालयको पक्षमा सरकार –सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।
वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । उहाँले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया