सरकारले गति लिन सकेन : अध्यक्ष जबरा

सरकारले गति लिन सकेन : अध्यक्ष जबरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, १३ कात्तिक (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताउनुभएको छ । उहाँले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभएको हो ।

“जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन”, उहाँले भन्नुभयो । सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरुलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुप¥यो ।”

अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । “त्यतिबेला नेकपाले पनि जनताको हितमा काम गर्न सकेन, आफैँमा झगडा गरेरै बसे, जनताको अपेक्षा विकास हुन्छ भन्ने थियो, विकासमा ध्यान दिनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । वर्तमान सरकार नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उहाँको धारणा थियो ।

अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मालम्बी भएको नेपाल हिन्दू राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य उदय मुस्याजू, जिल्लाध्यक्ष टुल्कु लामालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो पनि – राजनीतिले भन्दा सङ्गीतले मानिसलाई जागरण ल्याउँछ : एमाले अध्यक्ष ओली

काठमाडौँ, १३ कात्तिक (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलेभन्दा सङ्गीतले मानिसलाई जागरण बढाउन सजिलो हुने बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शार्दुल अङ्क–४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक कुराले भन्दा सङ्गीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताउनुभयो ।

“सङ्गीतमा समाज र मानिसलाई बदल्ने शक्ति रहेको छ”, उहाँले भन्नुभयो, “गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सक्दछौँ ।” जीवन र मानिसका लागि समस्यालाई छुने गीत गाउनुपर्ने उहाँको भनाइ थियो । “ऐना र तस्वीर मात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ”, उहाँले भन्नुभयो, “जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ ।”

एमाले अध्यक्ष ओलीले देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताउनुभयो । उहाँले विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको भाव झल्किने खालका जागरणका गीत हुनुपर्ने बताउनुभयो । ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

“अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ”, उहाँले भन्नुभयो, “मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ ।” उहाँले पूर्वजले छन्द, कलाकारिताका रङ, सङ्गीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको बताउनुभयो । उहाँले गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले गीत गाएको जानकारी दिनुभयो । गीतकार श्याम टमोटले २०० गीतबाट १० वटा गीति एल्बममा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा गीतका स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो ।