राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताउनुभएको छ । उहाँले पार्टीको जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभएको हो । “जनतासँग यो सरकारप्रतिको आशा निकै जागेको देखिन्थ्यो, तर सरकार आफैँले गति लिन सकिरहेको छैन”, उहाँले भन्नुभयो । सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरुलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुप¥यो ।”

अध्यक्ष जबराले फरक प्रसङ्गमा चार बर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । “त्यतिबेला नेकपाले पनि जनताको हितमा काम गर्न सकेन, आफैँमा झगडा गरेरै बसे, जनताको अपेक्षा विकास हुन्छ भन्ने थियो, विकासमा ध्यान दिनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । वर्तमान सरकार नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उहाँको धारणा थियो ।
अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मालम्बी भएको नेपाल हिन्दू राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य उदय मुस्याजू, जिल्लाध्यक्ष टुल्कु लामालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यो पनि – आधिकारिक सूचना अब समयमै उपलब्ध हुन्छ : गृहमन्त्री खाँण
गृहमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताउनुभएको छ ।गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले आधिकारिक व्यक्तिबाटै समयमै सूचना सम्प्रेषणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “गृहमन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायमा राम्रो होस् भन्नका लागि सरुवामा केही ढिलाइ भएको छ, मापदण्ड र कार्यक्षमताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिइने छ ।”
कार्यबोझ र चुनौती थपिए पनि कतिपय स्थान र निकायमा विगतमा भन्दा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने कार्यले कार्यसम्पादनमा तालमेल नभएको जनाउँदै उहाँले भन्नुभयो¬, “संसारभर सुरक्षाका नयाँ–नयाँ चुनौती थपिएको छ ।” गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिइएको बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरलरूपमा प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया