नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेको बताउनुभएको छ । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छाँै ।”
प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताउनुभयो । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उहाँले भन्नुभयो, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।”
अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताउनुभयो । उहाँले बैठक बस्नेबित्तिक्कै गठबन्धनको धारणा आउने जनाउनुभयो । प्रचण्डले अर्ली इलेक्सन नहुने दाबी गर्दै भन्नुभयो, “अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ ।”
यो पनि – ‘आगामी निर्वाचन तीनवटै तहको एकैसाथ गर्नुपर्छ’
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन आयोगका प्रमुख टङ्क राईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ । पार्टी कामको सिलसिलामा गृहजिल्ला आउनुभएका नेता राईले जनतालाई झन्झट र राज्यको खर्च जोगाउन पनि सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपालले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका नाममा जनतालाई सास्ती र रोज्यको खर्च बढी गर्न नहुने तर्क राख्नुभयो । “देशमा तीनवटै तहको निर्वाचन गर्ने समय आएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा जनतालाई हुने झन्झट कम गर्न र राज्यबाट हुने खर्च जोगाउन पनि सङ्घ, प्रदेश र स्थानीय तहगरी तीनवटै तहको निर्वाचन एउटै मिति र खर्चमा गर्नुपर्छ ।”
पूर्व सांसदसमेत रहनुभएका नेता राईले वर्तमान सरकार प्रतिगामी शक्तिविरुद्ध निर्माण भएको बताउनुहुँदै आगामी निर्वाचनसमेत यही सरकारले गर्ने दाबी गर्नुभयो । “आगामी निर्वाचनमा गठबन्धनबीच एउटै चुनाव चिह्नबाट चुनाव लड्ने गरी गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “चुनाव चिह्न प्राविधिक विषय हो, आगामी निर्वाचनमा गठबन्धनमध्ये कुनै पनि एउटा राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नेगरी एउटै चुनाव चिह्नमा सहमति हुन्छ ।”
दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धनका नेता पनि साझा कार्यक्रम बनाउन थालेका छन् । जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सक्रिय छन् ।
प्रतिक्रिया