प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन युके शाखाको आयोजनामा आज यहाँ भएको कार्यक्रममा उहाँले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताउनुभयो ।
गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६०अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहनुभएका प्रधानमन्त्री आजै नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
यो पनि – प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभएको थियो । उहाँहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।
प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गर्नुभएको सचिव पौड्यालले बताउनुभयो । यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभयो ।
यो पनि – प्रदेश नं १ मा गठबन्धनको सरकार निर्माण हुन्छ : मन्त्री कार्की
सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नं १ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले सहमतिअनुससार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताउनुभयो । गठबन्धनको संस्कृति र गठबन्धनलाई मजबुद बनाउनु अहिलेको आवश्यकता भएकाले राईकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने मन्त्री कार्कीले दाबी गर्नुभयो ।
प्रदेशमा कुनै दलको सदस्य सङ्ख्या कमबेसी भए पनि जसरी केन्द्रमा संयुक्त गठबन्धनको सरकार निर्माण भएको छ त्यसरी नै प्रदेशमा पनि संयुक्त सरकार बन्ने मन्त्री कार्कीले दाबी गर्नुभयो ।
अहिले केन्द्रमा भएको गठबन्धनको सरकारलाई मजबुद बनाउन केन्द्रका शीर्ष नेताबीच छलफल गरेर भएको निर्णयलाई पालन गर्नुको विकल्प आफूहरूसमक्ष नभएको मन्त्री कार्कीले बताउनुभयो । केन्द्रमा भएको निर्णयका विषयमा हामीले एउटा उपयुक्त ठाउँमा छलफल गर्ने बताउँदै त्यसलाई अवज्ञा गर्ने अधिकार कसैलाई नभएकोसमेत उल्लेख गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री कार्कीले वर्तमान सरकारले देशलाई दिगो विकासतर्फ अग्रसर गर्नका लागि क्रियाशील रहेको बताउनुभयो । मुलुकमा स्थिरता कायम गर्दै जनताको जीवनरक्षा गरेर देशलाई दिगो विकासतर्फ अग्रसर गराउनु अहिलेको सरकार हरपल प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
विगतका सरकारले साढे तीन वर्षमा केवल शक्ति आफ्नो हातमा केन्द्रित गर्ने, जनतालाई गफ बाँड्नेबाहेक केही नगरेको उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले सरकारले लोकतन्त्रको रक्षा, पद्धतिको सुदृढीकरण, कानूनी शासनको प्रत्याभूति गर्दै सुशासनलाई केन्द्रमा राखेर जनतालाई सेवा र सुविधा प्रदान गर्ने बताउनुभयो ।
सरकारको पहिलो प्राथमिकता खोप भएकाले वैशाखभित्रमा खोप लगाउन योग्य नागरिकले खोप लगाइसक्ने मन्त्री कार्कीले बताउनुभयो । कोभिडको आतङ्कबाट विस्तारै हामीले मुक्ति पाइरहेको बताउँदै वर्तमान सरकारले जनताको जीवनरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय भूमि आयोगका अध्यक्ष केशव निरौला, सङ्घीय संसद् तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, प्रदेश १ का सांसद ताहिर अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नन्दन दत्त, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रम इनरुवा–८ का वडाध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया