बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहनुभएका उहाँले नेपालप्रतिको बेलायती सांसदहरूले देखाउनुभएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताउनुभयो ।

नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउँछ भन्नुभयो ।

सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नुहुनेछ भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उहाँ सहभागी हुनुहुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नुहुनेछ ।

यो पनि – श्रममन्त्री स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

काठमाडौं, १४ कात्तिक (रासस): श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्कनुभएका उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेषरूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेशन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताउनुभयो ।

युएईमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारलाई भेटेर नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई आउने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इञ्जीनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायतका विषयमा छलफल गर्नुभएको थियो ।