त्रिशूली, १५ कात्तिक (रासस) : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो ।”
कांग्रेस नेतृत्वको यो सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा (तामाङ)द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताउनुभयो ।
अघिल्लो ओली सरकारले जनाताका आवश्यकताअनुसार काम गर्न नसकी असफल भएपछि नेपाली नागरिकको इच्छाबमोजिम नै कांग्रेस नेतृत्वमा यो सरकार निर्माण भएको उहाँले स्पष्ट गर्नुभयो । अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो ।
आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आम निर्वाचन यही सरकारले गर्छ र नेपाली जनताले कांग्रेसलाई स्पष्ट बहुमत दिनेछन् । उहाँले आमनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रुपमा नलिन आग्रह गर्नुभयो ।
पछिल्लो समय पाटीको अधिवेशनमा देखिएको गुटलाई लक्षित गर्दै “केही साथीहरुले पार्टीको अधिवेशनलाई जीवन मरणको लडाइँ ठानेका छन् । यो दुर्भाग्य हो” उहाँले भन्नुभयो । “म ठीक र अरु गलत भन्ने प्रवृत्ति त्याग्नुपर्छ । गालीगलौजको भाषा पार्टीलाई मान्य हुनेछैन । सहिष्णुता र सद्भाव कायम गर्नुर्पछ”, उहाँले भन्नुभयो “पार्टीको अधिवेशन एकताको लागि र आमनिर्वाचन विपक्षीसँगको प्रतिस्पर्धाका लागि हो भनेर सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
यो पनि – गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु
पर्वत, १५ कात्तिक (रासस) ः दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो । आव २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक रु पाँच÷पाँच हजारका दरले र अन्य महिलालाई एक पटक रु पाँच हजारका दरले रकम दिइने भएको छ । रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ ।
यो कार्यक्रम गत आइतबार गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले वडा नं ३स्थित बेउलीबासमा शुभारम्भ गर्नुभएको थियो । उक्त वडाका सुत्केरी महिलालाई उहाँले रु पाँच हजारका दरले नगद प्रदान गर्नुभयो । गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार गरिने भएको छ । यसबाट प्राय विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया