गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु

गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १५ कात्तिक (रासस) : दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो । आव २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक रु पाँच÷पाँच हजारका दरले र अन्य महिलालाई एक पटक रु पाँच हजारका दरले रकम दिइने भएको छ । रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ ।

यो कार्यक्रम गत आइतबार गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले वडा नं ३स्थित बेउलीबासमा शुभारम्भ गर्नुभएको थियो । उक्त वडाका सुत्केरी महिलालाई उहाँले रु पाँच हजारका दरले नगद प्रदान गर्नुभयो । गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार गरिने भएको छ । यसबाट प्राय विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो पनि – पचासी हजार घरमध्ये ६६ हजार घरमा बसोबास

गोरखा, १५ कात्तिक (रासस) : गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्याङक कार्यालयका प्रमुख महेशप्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

जिल्लाभित्र यही भदौ ३० गतेदेखि असोज १८ गतेसम्म गरिएको घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्याङ्कअनुसार १९ हजारभन्दा बढी घरमा मानिस बसोबास नरहेको पाइएको प्रारम्भिक तथ्याङक प्राप्त भएको उहाँले बताउनुभयो । मानिस बसोबास नभएका घरमध्ये केही बसाइँसराइ गरी गएका तथा बाहिर घर भएर पनि भूकम्पीय जोखिममा रहेको पाइएको प्रमुख ढुङगानाले जानकारी दिनुभयोे ।

प्रारम्भिक तथ्याङकमा जिल्लामा ६६ हजार घरमा मानिसको बसोबास भए पनि परिवारको सङ्ख्या भने करिब ७१ हजार रहेको छ । ‘तथ्याङ्क सङ्कलनका क्रममा कतिपय एउटा घरमा दुई परिवारसमेत बसोबास गरेको पाइएको छ, उहाँले भन्नुभयो,“जसले गर्दा मानिस बसोबास गरेको घरको सङ्ख्याभन्दा परिवारको सङ्ख्या झण्डै पाँच प्रतिशतले बढी हुन आएको छ ।”

घरपरिवार सूचीकरणको तथ्याङ्क सङ्कलनमा खटिएका ९८सुपरीवेक्षले जिल्लाभित्र रहेका कृषिको लगत, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्राविधिक शिक्षा लिए नलिएको, बैंकसँग ऋण लिए नलिएको बारेमा पनि तथ्याङ्क सङ्कलन गरिएको थियो ।

जिल्लामा यही कात्तिक २५ गतेदेखि हुने मुख्य जनगणनाका लागि ४०२ गणक परिचालन हुनेछन् । जनगणनाका लागि विभिन्न पाँच केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित हुने जनगणनामा खटिने कर्मचारीलाई सहयोग गरी सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ ।