वित्तीय परिचालनमा वाग्मती प्रदेश अगाडि

वित्तीय परिचालनमा वाग्मती प्रदेश अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक (रासस) : बैंक तथा वित्तीय संस्थाको उपस्थिति र वित्तीय परिचालन वाग्मती प्रदेशमा नै केन्द्रित रहेको पाइएको छ । सङ्घीय राजधानीसमेत रहेको यस प्रदेशमा नै वित्तीय संस्थाको पहुँच तथा साधन परिचालन भइरहेको पाइएको हो ।

केन्द्रीय बैंकले हालै गरेको एक अध्ययनमा भनिएको छ, “यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ ।” यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्तो परिचालन न्यून देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कूल शाखा सङ्ख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) वाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कूल निक्षेपको ६८.१ प्रतिशत र कूल कर्जाको ५६.६ प्रतिशत वाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । केन्द्रीय बैंकले वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

नेपालको सङ्घीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने उद्देश्यले केन्द्रीय बैंकले अध्ययन गरेको थियो । अध्ययनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति नियालेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबंैकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए पनि योअध्ययन मूलत वाणिज्य बंैक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ । पछिल्ला वर्षहरूमा वाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच वाग्मती बाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हँुदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

यो पनि – नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास

काठमाडौँ, १५ कात्तिक (रासस) : नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास ‘एक्स् टिक नेल २०२२’ सुरु भएको छ । सेनाको छाउनीस्थित रेञ्जर गणमा सुरु भएको उक्त अभ्यासमा सेनाको खोज तथा उद्धार कार्यमा संलग्न हुने ५० र अमेरिकी सेनाका २० सैनिकको सहभागिता छ । काठमाडौँ, पोखरा र अन्नपूर्ण बेस क्याम्प इलाकामा सञ्चालन हुने तालिममा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा खोज एवं उद्धारका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यास मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यास सुभारम्भ कार्यक्रममा सेनाको विशेष फौजका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासका प्रशान्त सहयोग टोली, सैनिक प्रतीरक्ष सहयोग कार्यालयका प्रमुख तथा सेनाका रथीवृन्द तथा अधिकृत उपस्थित हुनुहुन्थ्यो । संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न फौजमा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालीमबाट दुई देशबीचका मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाल विश्वास लिएको छ ।