जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताउनुभएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उहाँले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
यो पनि – कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिनुभएको हो । सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताउनुभयो । सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको उहाँले जनाउनुभयो ।
समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उहाँले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा रु दुई अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको सम्बोधनमार्फत जानकारी दिनुभयो ।
आजै मन्त्रिपरिषद् बैठक बसेर राजीनामा दिनुभएका मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि कांगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताउनुभयो । “हामीबीच भद्र सहमतिअनुसार उहाँले राजीनामा दिनुभएको छ,” रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले राजीनामापश्चात् दुई/चार दिन पर्खन अनुरोध गरे त्यहीअनुसार आफू मुख्यमन्त्री बन्ने सोच गरेको छु ।”
प्रतिक्रिया