प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँग महासचिव लिमले आज ‘साइडलाइन’ भेटवार्ता गर्नुभएको हो ।
भेटवार्तामा उहाँहरुबीच समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो । सो अवसरमा महासचिव लिमले समुद्रसँग सम्बन्धित स्वीडेन र मोल्टामा रहेका विश्वविद्यालय र इच्स्टिच्युटमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभएको थियो ।
सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुग्नुभएको थियो । यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया