खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ बासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ । खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले आज नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञहरुको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँ बासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताउनुभएको हो ।
आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँ बासीलाई खुवाउने प्रतिबद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो । मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गर्नुभयो ।
उहाँले मुलुककै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा चिनिएको बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागार्इंले झापामा सञ्चालित खानेपानी आयोजनाका विषयमा जानकारी गराउनुभएको थियो ।
यो पनि – लोकतन्त्र जोगाउन नयाँ पार्टी गठन भएको होः नेता खतिवडा
नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको बताउनुभएको छ । युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज ठिमीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले नीति र सिद्धान्त प्रधान भएर चलेन, व्यक्ति प्रधान भएर चल्यो, पार्टी जिन्दावादको नारा लाग्न छाड्यो, व्यक्तिको जयजयकारको नारा लाग्न थाल्यो, त्यसैले स्वतन्त्र, स्वाभिमानी र समाजवादीका लागि लड्दै आएकाले नयाँ पार्टी गठन गर्यौं ।”
नेता खतिवडाले पार्टीको सङ्गठन विस्तारका लागि देशव्यापी अभियान चलाउनुपर्नेमा जोडदिदैं आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजबादी) पार्टी सबैभन्दा ठूलो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी चुनावमा एमालेले अन्य दलसँगको तालमेल नगरी एक्लै चुनाव जित्न सक्दैन्, आगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा बढी सिट ल्याएर देखाइदिन्छ ।”कार्यक्रममा एकीकृत समाजबादी नेता डा राजेन्द्रमान श्रेष्ठ, युवा सङ्घका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा युवा सङ्घका नेता दीपक थापालगायतले पार्टी विस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया