ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनले नेपालमा परेको अवसरबारे राजदूतलाई जानकारी गराउनुभयो । जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गर्नुभयो । युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरू नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकरराज राजभण्डारीसहित पराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।

यो पनि –  प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उहाँले आज शिलान्यास गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चिसापानीगढीसहित देशभरका गढीले देशको सीमा सुरक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै यसको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उहाँले नेपाली सेनाले पनि आवश्यक सहयोग गरेको बताउनुभयो । राज्यपक्षले यस्ता गढीलाई राष्ट्रिय गौरवको आयोजनाकै रुपमा राखेर प्रविधियुक्त संरचना बनाई भावी पुस्तालाई इतिहास अध्ययनको लागि वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सो गढी अब देशैकै उत्कृष्ट गढीका रूपमा पर्यटकीयरूपमा चर्चामा आउने समेत बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तत्कालीन समयमा व्यापारिक नाकाको रूपमा रहेको यस गढीको संरक्षण र विकासका लागि आफू र आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले चिसापानीगढी अब नयाँ पुस्ताको लागि अध्ययनको एउटा राम्रो गन्तव्य बन्ने र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिने उल्लेख गर्नुभयो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।

सो गढी निर्माणको लागि चालु आर्थिक वर्षमा मात्रै रु पाँच करोड विनियोजना भइसकेको छ । ठेक्का सम्झौतामार्फत विसं २०८० भित्रमा संरचना निर्माणको काम सम्पन्न गरिसकिने भीमफेदी गाउँपालिकाले जनाएको छ । चालु आवमा मुख्य प्रवेशद्वारामा कलात्मक गेट निर्माण गरिने, सो क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गरिने, नेपालको नक्सा तयार गरिने, इनारको पुनः निर्माण गरिने, तथा बटुक भैरव मन्दिरको संरक्षण गरिने गाउँपालिकाको योजना रहेको योजना प्रमुख बद्र्री सापकोटाले जानकारी दिनुभयो । सो आयोजनाको लागि रु २८ लाखको गुरुयोजना तयार गरी काम अघि बढाइएको उहाँको भनाइ छ ।