‘न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत

‘न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीशले आफैँ गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता महतले आज ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताउनुभयो । प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उहाँले बताउनुभयो ।

सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उहाँको जोड थियो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गर्न सफल भएको उहाँले बताउनुभयो । आज ताप्लेजुङमा पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गठबन्धन सरकारले गरेको कामको बारेमा उहाँले प्रष्ट्याउनुभएको हो ।

उहाँका अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गरेको र असंवैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्तिलगायतका क्रियाकलाप नियन्त्रण गर्न सरकार सफल हुँदै गएको छ । परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उहाँले बताउनुभयो ।

सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताउनुभयो । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नु परे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने उहाँले ठोकुवा गर्नुभयो । आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गर्नुभयो । कांग्रेस नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज बिहान दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा नेपाली कांग्रेसका पार्टी कार्यकर्तासँग भेटघाट गुर्नभएको हो ।