नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १८ कात्तिक (रासस) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको सङ्ख्या एक हजार ४०१ तथा पुरुषको सङ्ख्या एक हजार ४८८ रहेका भुसालले बताउनुभयो ।

जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ वटा सिफारिस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ वटा सिफारिस गरिएको भुसालले जानकारी दिनुभयो ।

पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए ।

त्यसैगरी जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको सङ्ख्यामा नागरिकताको प्रतिलिपि लिनेहरु छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महिनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेका भुसालले बताउनुभयो ।

यो पनि – कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना

काठमाडौँ, १८ कात्तिक (रासस) : कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ । काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको हाल बागमती प्रदेशसभा सदस्यसमेत रहनुभएका फुयाँलले बताउनुभयो ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेको जनाइएको छ । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल बागमती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवसमेत सुरुआत गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ ।

यसैगरी बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको जनाइएको छ ।