विराटनगर, १८ कात्तिक (रासस) : गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल र झापा गाउँपालिकामा एक÷एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा एक÷एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक÷एक, इलामको चुलाचुलीमा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै ३३ महिलासहित ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक जना महिलाको मृत्यु भएको छ ।
यो पनि : गरियो लक्ष्मी पूजा
काठमाडौँ, १८ कात्तिक (रासस) : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।
आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइ पूजा गरिने परम्परा छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसाको पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मी पूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन् ।
आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो । कर्णाली प्रदेशका स्थानीयवासी मनोहर लामिछाने खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको बताउनुहुन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।



प्रतिक्रिया