एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली

एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ कात्तिक (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले कसैले चाहँदैमा एमाले पार्टी सिध्याउन नसक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र बिरोधी भनेको सन्दर्भ कोट्याउँदै उहाँले दाहालको भन्दा २५ वर्षअघि आफू गणतन्त्रको कुरा उठाउँदा जेल परेको बताउनुभयो ।

“अनेक प्रकारका झुठा र भ्रमपूर्ण कुरा फैलाउनु पर्दैन, कुरु क्षेत्र बनाउने भनेर धम्क्याउनु पर्दैन, नेपाल अब शान्ति क्षेत्र, धर्म क्षेत्र हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो । सरकारमा हुँदा एमालेले असाधारण काम गरेको उहाँको भनाइ थियो । “हामीले विकासका काम थुप्रै ग¥यौँ, हामीले गरेको विकास हेरे हुन्छ”, ओलीले भन्नुभयो ।

भक्तपुर एउटा जीवित सङ्ग्रहालय हो भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर हरेक क्षेत्रबाट विकासका आयाम फैलाउने अध्यक्ष ओलीको भनाइ थियो । एमाले राष्ट्र निर्माणको अभियानमा लागेको उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा एमालेका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र महेश बस्नेत, वाग्मती प्रदेशसभा सदस्य शशिजंग थापा, सरस्वती वाटी, सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो पनि – नेपाल संवत्लाई प्रवद्र्धन र प्रयोगमा ल्याउन आवश्यक : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवद्र्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले आजको दिनले नेपाल संवत्को प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उहाँले स्मरण गर्नुभएको छ ।