नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा

नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक (रासस) : प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

यो पनि – एमसिसीबारे सत्य बोल्न डराउनु हुँदैन : सहमहामन्त्री डा महत

झापा, १८ कात्तिक (रासस) : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसिसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताउनुभएको छ । विर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एमसिसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गर्नुभयो ।

भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताउनुभयो । सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उहाँको जोड थियो ।

एमसिसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उहाँले स्पष्ट पार्नुभयो । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो । विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता सङ्कटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसिसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रुपमा छलफल भएको जानकारी दिनुभयो । केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उहाँले आरोप लगाउनुभयो । ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा महतको भनाइ थियो ।

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उहाँले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताउनुभयो । “राज्यका सबै अङ्ग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अङ्गको हस्तक्षेप अपरिहार्य हुन्छ”, उहाँले भन्नुभयो ।

महामन्त्रीको उम्मेद्वार बन्ने सङ्केत

डा महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गर्नुभएको छ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै उहाँले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताउनुभयो ।

उहाँले छिटै महामन्त्री पदको उम्मेद्वारी घोषणा गर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी हुनुहुन्थ्यो । ताप्लेजुङबाट विर्तामोडस्थित पार्टी कार्यालयमा आउनुअघि डा महत महामन्त्रीको उम्मेद्वारी घोषणा गर्नुभएका प्रवक्ता शर्मालाई भेट्न मेचीनगरस्थित उहाँको निवास पुग्नुभएको थियो ।