अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।”
अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहलसमेत गर्ने बताउनुभयो । उहाँले गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुआत गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ”, उहाँले भन्नुभयो, “शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न म सबैलाई आग्रह छु ।”
शङ्खधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूती घोषणा गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।
यो पनि -आगलागीबाट रु एक करोड ५० लाख बराबर क्षति
जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारीदिनुभयो ।



प्रतिक्रिया