म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १९ कात्तिक (रासस) : स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । अनुगमनका क्रममा सिरहाका विभिन्न पसलबाट रु ६० हजार तथा सप्तरीका पसलबाट रु ९५ हजारको म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।

सिरहा सदरमुकामस्थित प्रदीप हट कोल्ड एण्ड जनरल स्टोर, श्रवण इन्टरप्राइजेज, रवि जनरल स्टोर तथा सप्तरीको राजविराजस्थित सियाराम किराना पसल, अल इमरान जनरल स्टोर, आनन्द किराना पसल, सगरमाथा होटल, महुली होटल, सप्तरीको कञ्चनरुप नगरपालिका–८ को निखिल किराना स्टोर, महेन्द्र किराना पसल, दुखन किराना पसल तथा प्रमोद पान पसलबाट सामान बरामद गरी नष्ट गरेको छ । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद नाघेका खाद्यवस्तुलाई नष्ट गर्न तथा उनीहरुलाई सचेत गराइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।

यो पनि – बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा

बैतडी, १९ असोज (रासस) : चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बैतडीमा हुनसकेको छैन । बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन् । तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन् ।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ । लागत मूल्य नै महँगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैँमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको एक महिनादेखि जिल्ला बाहिर रहनुभएको र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडि नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रजिअ बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा बस्ने, हामी त कुनै अर्को कर्मचारी पनि पठाउँथ्याँै तर अन्य सरोकारवाला कार्यालयका कर्मचारी पनि बिदामा रहेकाले तिहारमा अनुगमन गर्न सकिएन ।”

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गर्ने गरिन्छ । यसअघि नियमितरूपमा बजार अनुगमन हुने भनिए पनि तिहारमा बजार अनुगमन हुन नसकेको हो । उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताउनुभयो । बजार अनुगमन पनि प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कालोबजारी रोक्न बजार अनुगमन नियमितरूपमा गर्नुपर्छ, प्रशासनले औपचारिकताका लागि मात्रै अनुगमन गर्नुहँुदैन ।” बजार अनुगमन हुने गरेको भए पनि सदरमुकाम केन्द्रित मात्रै हुने गरेकाले ग्रामीण क्षेत्रका बजारमा समेत हुनुपर्ने उपभोक्ताको माग छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने गरेको बताउनुभयो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ । यसअघि गत असोजमा दसैँ लक्षित र भदौँमा गरिएको बजार अनुगमनका क्रममा रु दुई लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।