झापा, १९ कात्तिक (रासस) : नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आज देउसी भैली खेलेको छ । लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा रु एक लाख १० हजार बढी रकम जम्मा भएको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।
सञ्चार गृहले विगत तीन वर्षदेखि नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष वृद्धिका लागि देउसीभैलो कार्यक्रम खेल्दै आएको अध्यक्ष शिवाकोटीको भनाइ छ । गत वर्ष कोभिड– १९ का कारण संस्थाले सामाजिक सञ्जालबाट देउसी खेलेको थियो । रु २५ लाख लक्ष्य राखेर स्थापना गरिएको अक्षयकोषमा हाल रु २२ लाख जम्मा भइसकेको कोषका संयोजक तथा संस्थाका उपाध्यक्ष रेजिना गौतमले बताउनुभयो । त्यसैगरी साहित्य चौतारी झापाले विर्तामोडस्थित हनुमान मन्दिर अगाडि सामूहिक देउसी कार्यक्रम गरेको छ ।
यो पनि – न्यून सङ्क्रमण
विराटनगर, १९ कात्तिक (रासस) : गएको २४ घण्टामा प्रदेश नं १ मा यस वर्षको सबैभन्दा कम तीन जनामा कोरोना सङ्क्रमण भएको छ । सो सङ्क्रमण ११ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३८ महिलासहित ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।
यो पनि : सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्छ ः मन्त्री श्रेष्ठ
दमौली, १९ कात्तिक (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले सबै धर्म संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । नेपाल संवत् ११४२, तिहारलगायतका चाडपर्वका अवसरमा तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार अभिभावक भएकाले सबै धर्म संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै गरिबी उन्मूलनको अभियान थालनी गरेर महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै धर्म, संस्कृतिका कारण नै आज समाजमा सद्भाव कायम रहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ ।”



प्रतिक्रिया