किमाथाङ्का, १९ कात्तिक (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताउनुभयो । नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उहाँको भनाइ थियो ।
विगतको सरकारले संसद्मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उहाँले बताउनुभयो । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताउनुभयो ।
यो पनि – मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु
सोलुखुम्बु, १९ कात्तिक (रासस) : जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।
यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो । सोही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउण्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ ।



प्रतिक्रिया