एमाले भएकैले संविधान बचेको हो : अध्यक्ष ओली

एमाले भएकैले संविधान बचेको हो : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गर्नुभयो ।

उहाँले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।”

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई एमालेमा स्वागत गर्दै अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्ने र दलाली गर्नेहहरुले नभई चेतनायुक्त पार्टी एमालेले जित्नुपर्छ भन्नुभयो । उहाँले पार्टी प्रवेश गराउनकै लागि आफू फेरि झापा र धनकुटाको भ्रमणमा जाने जानकारी गराउनुभयो ।

यो पनि – सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

दमौली, २१ कात्तिक (रासस) : तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न भएको भवनको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । भवन निर्माणका लागि स्थानीयवासी कमलनारायण खड्गीले तीन आना जग्गा दान गर्नुभएको थियो ।

शोभाकान्त पोखरेल विसं २०५५ साल जेठ १४ गते प्रहरीबाट मारिनुभएको थियो । प्रहरीले सञ्चालन गरेको किलो शेरा–२ अभियानका क्रममा पोखरेलले बन्दीपुरको धरमपानीस्थित सेती नदी किनारमा सहादत प्राप्त गर्नुभएको थियो । भवनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले सहिदको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । सहिदले देखेका सपना पूरा भए मात्रै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले बन्दीपुर र समग्र तनहुँको विकासको जिम्मा आफूले लिएको बताउनुभयो । अहिलेसम्म चुनाव जित्न नसकेका केही राजनीतिक दलले आफूलाई निषेध गर्न खोजेको भन्दै मन्त्री श्रेष्ठले त्यस्तो निषेध र विरोधले केही नहुने बताउनुभयो । “तनहुँ क्षेत्र नम्बर–१ का जनताको मतले जितेको सांसद हूँ, अहिले मन्त्री भएको छु,” मन्त्री श्रेष्ठले भन्नुभयो, “व्यक्तिगत रुपमा मलाई केही गर्नु छैन, जनताका लागि सधैँ काम गर्नेछु ।”

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य सीता पोखरेल, गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले सहिद पोखरेलको स्मरण गर्नुभएको थियो ।

यो पनि – पोखरामा भाइटीका महोत्सवः छ देशका २० जनाले गरे टीका ग्रहण

गण्डकी, २१ कात्तिक (रासस) : पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।

कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौँ संस्करणका रुपमा पुनःनिरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए ।

तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने मुख्य लक्ष्यका साथ भाइटीका कार्यक्रमको आयोजना गर्दै आएको उहाँको भनाइ छ । कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवम् सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा टीका ग्रहण गर्नका लागि नै कतिपय विदेशी नागरिक बारम्बार पोखरा आउने गरेका छन् ।

विदेशी नागरिकलाई टीकासँगै गालामा सयपत्री पूmलको माला र शीरमा नेपाली ढाका टोपी लगाइदिएका थिए भने उनीहरुका लागि सेलरोटीलगायतका परिवार छात्राले पस्किएका थिए । सो अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

कार्यक्रमको सुरु गर्दै सङ्घका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्वका बारेमा विदेशी नागरिकलाई जानकारी गराउनुभएको थियो ।

यो पनि – व्यापारिक केन्द्र बन्दै बीपीनगर

–सिद्धराज भट्ट, सुदूरपश्चिम, २१ कात्तिक (रासस) : विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ । बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा सङ्कलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताउनुभयो ।

तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ’’, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भन्नुभयो, ‘‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’’

डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको सङ्गम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । अग्ला पहाडको खोँच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीको आवाज र वरपरको प्राकृतिक दृष्यावलोकनले यहाँ घुम्न आउने यात्रु रमाउँछन् ।

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाडहुँदै बड्डीकेदारसम्म केबुलकारको योजना निर्माणको लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताउनुभयो । यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्ने गर्दछन् ।

विसं २०४६ मा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामाकरण गरिएको हो । विसं २०४६ अघि सम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । ‘‘नेपालमा प्रजातन्त्र स्थापना भएको दिन विसं २०४६ चैत २६ गते महामानव एवं लोकतन्त्रवादी नेता स्वर्गीय बीपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिडाउँदै समग्र विकास गर्ने उद्देश्यले उहाँकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो’’, समाजसेवी जोशीले भन्नुभयो, ‘‘पछिल्ला वर्षमा नाम परिवर्तन गरिएकाप्रति कतिपयले असहमति जनाइरहेका छन् ।’’

नजिकैको पहाडको टाकुरामा प्रचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम पनि ‘घोडिलास’ राखिएको स्थानीयवासीको भनाइ छ । यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुङ्गाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइन्छ । भोटेगढीवाट कापडी नदीसम्म सुरुङमार्ग समेत रहेको भन्ने भनाइ छ । ‘‘यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ’’, समाजसेवी जोशीले भन्नुभयो, ‘‘अहिले भने यो सुरुङमार्ग ठाउँ ठाउँमा भत्किएको अवस्थामा रहेकाले, हाल कोही जान सक्दैनन् ।’’

धनगढी—डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डवाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक निर्माणाधीन छ । यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायल सम्मको फास्ट ट्र्याक(द्रूतमार्ग) सडक पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्व अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् ।

सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै रु एक करोड बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याउनु भएको छ । ‘‘घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटेल व्यवसाय सुरु गरेका हौँ’’, होटेल विकासका सञ्चालक साउदले भन्नुभयो, ‘‘पर्यटकको बसाइँ सहज बनाउन चाहिने खानाका सबै परिकारका अलावा ठूलीगाडका माछाका परिकार पस्किएर दिने सोच बनाएका छौं ।’’

डोटीका प्रसिद्ध धार्मिक तीर्थस्थल बड्डीकेदारमा वर्षमा एक पटक लाग्ने धार्मिक मेलामा आवागमन गर्ने भक्तजन बीपीनगरको बाटो हुँदै पुग्ने गर्दछन् ।

स्वादिष्ट माछाका लागि चर्चित

बीपीनगर हुँदै बग्ने ठूलीगाड, गडसिरी र कापडी नदीमा पाउने विभिन्न प्रजातिका माछा यो क्षेत्रमा घुम्न आउने यात्रुका लागि पहिलो रोजाइँमा पर्ने गरेको छ ।

यी नदीमा पाउने माछाबाट बनेका परिकार निकै स्वदिष्ट हुँदा यसले बीपीनगरको पहिचान बनाएको अनुभव सुनाउँछन् । स्थानीयवासी जयराज भण्डारीले ठूलीगाड नदीको माछा निकै स्वादिष्ट हुने गरेको बताउनुभयो । ‘‘यहाँ पाइने माछाबाट बनेका परिकार निकै स्वादिष्ट हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘माछाकै कारणले पनि यो क्षेत्रले आफ्नो छट्टै परिचय बनाएको छ ।’’

नदीमा विषादीको प्रयोग र करेन्ट प्रवाह गरेर माछा मार्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ । यो नदी पूर्वदक्षिणतर्फको कर्णाली नदीमा गएर मिसिन्छ । पानीको सतह बढेको समयमा कर्णाली नदीमा पाइने माछा बीपीनगर सम्मको ठूलीगाड नदीको भाग सम्म आउने पुग्ने गरेको बताइन्छ ।