बैतडी, २१ कात्तिक (रासस) : जिल्लाको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो ।
सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो । सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो । उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “छात्र र छात्रा दुवै बस्न मिल्ने गरेर व्यवस्था गरेका छौँ ।”
आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको बताउँदै प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा बनेको छात्रावासले टाढाबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई सहज हुनेछ । उहाँले भन्नुभयो, “दुर्गममा सञ्चालनमा रहेको यस क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको छ ।”
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने उद्देश्य अनुरूप गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा रहेको छ ।”
त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस विसं २०६९ मा स्थापना भएको हो । हाल यहाँ स्नातकोत्तरसम्मको पढाइ हुने गर्दछ । यस क्याम्पसमा अहिले बैतडीका विभिन्न स्थानका २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
यो पनि – कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने
काठमाडौँ, २१ कात्तिक (रासस) : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभएको हो । बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ । बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया