२२ कात्तिक (रासस÷सिन्ह्वा) ः रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ ।
त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।
यो पनि – जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल
२२ कात्तिक (रासस÷सिन्हवा) ः जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ । जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गर्नुभएको थियो ।
त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा संकटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ । त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताउनुभएको थियो ।
सिरियामा वर्षौँदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन् । यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन ।



प्रतिक्रिया